हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आयोजित मकवानपुर जिल्लास्तरीय खुला डबल ब्याटमिन्टन प्रतियोगिताको उपाधि हेटौँडा–५ का बिरु गुरुङ र चेतन विश्वकर्माको जोडीले जितेको छ ।
शनिबार हेटौँडा–११ थानाभर्याङस्थित ब्याटमिन्टन एकेडेमीको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा बिरु–चेतनको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । प्रतियोगितामा हेटौँडा–१० का राम थापा मगर र महेश बोहोराको जोडी उपविजेता बनेको छ ।
त्यसैगरी हेटौँडा–५ का अजय बजगाईं र हेटौँडा–११ का नितिन थापाको जोडी तेस्रो भएको छ भने भीमफेदी गाउँपालिकाका भोजराज जोशी र सुमन अर्यालको जोडी सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका बिरु गुरुङले नगद २ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेताहरूलाई हेटौँडा–१० स्थित टिसीएन चौरमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलान तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।












प्रतिक्रिया दिनुहोस्