हेटाैँडा । मकवानपुर जिल्लाका तीन वटा गाउँपालिकामा करदाता सेवा सुरु गरिएको छ । सोमबार बकैया गाउँपालिका करदाता सेवा सुरु गरिएसँगै मकवानपुरमा करदाता सेवा प्रदान गर्ने स्थानीय तहको सङ्ख्या तीन वटा पुगेको हो । यसअघि मनहरी र बागमती गाउँपालिकाले यस्तो सेवा सुरु गरेका थिए ।

गाउँपालिकामा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी तथा अन्य करदाता सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । सो अवसरमा छ जनलाई प्यान कार्ड वितरण गरिएको थियो ।  आन्तरिक राजस्व कार्यालय हेटौँडा र ती पालिकाहरुबिच यसअघि करदाता सेवा सुरु गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

सङ्घीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्न सुरु गर्ने निर्णयअनुसार मकवानपुर जिल्लामा स्थानीय तहमार्फत सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै अब गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायिक स्थायी लेखा (प्यान) नम्बर जारी हुने छ ।

व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण सम्बन्धी कार्य पनि हुनेछ । यस्तै आयकर दर्ता तथा स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधित कार्य पनि गाउँपालिका कार्यालयबाटै हुने जनाइएको छ ।

करदाता सेवा प्रदान गर्न सेवा सुरु गरेका गाउँपालिकाका तीन जना कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौँडाले तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापनसमेत गरेको छ । गाउँपालिकाबाटै सेवा सुरु भएसँगै करदातालाई समयको बचत हुनुका साथै छिट्टो छरितो सेवा प्राप्त हुने गाउँपालिका अध्यक्ष लामिछाने विश्वास व्यक्त गरे।

आन्तरिक राजस्व कार्यालय, हेटौँडाले थप स्थानीय तहमा करदाता सेवा सुरु गर्न सम्झौताका लागि राक्सिराङ गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिकामा प्रक्रिया अगाडि बढाएको जनाएको छ ।