हेटौँडा । मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाका  २९ वर्षीय सुरेशकुमार भ्लोन ड्र्यागन खेतीबाट गाउँमै सफल कृषि उद्यमी बनेका छन् ।

एक्साभेटर चालकको काम छाडेर तीन वर्षअघि सुरु गरेका व्यावसायिक खेतीबाट उनले लाखौँ रुपियाँ आम्दानी गर्दै गाउँका युवाका लागि उदाहरणीय कृषकको परिचय बनाउन सफल भएका हुन् ।

करिब साढे ११ वर्षसम्म देशका विभिन्न विकास निर्माण आयोजनामा एक्साभेटर चालकका रूपमा काम गरेका भ्लोनले विसं २०७९ चैतदेखि बैँकबाट १५ लाख रुपियाँ ऋण लिएर ड्र्यागन खेती सुरु गरेका थिए । कृषि क्षेत्रमा सम्भावना देखेपछि गाउँ फर्किएर व्यवसाय सुरु गरेको उनले बताए । हाल उनले ड्र्यागन फलसँगै पशुपालन र टमाटर खेतीलाई पनि व्यावसायिक रूपमा सञ्चालन गर्दै बहुआयामिक कृषि प्रणाली अपनाएका छन् ।

उनका अनुसार खेती सुरु गरेको पहिलो साढे एक वर्षमा १४ क्विन्टल ड्र्यागन फल उत्पादन भएको थियो । दोस्रो वर्ष उत्पादन बढेर ४२ क्विन्टल पुगेको छ । हाल फार्ममा एक हजार ८२४ वटा बिरुवा रहेका छन् । बिरुवा परिपक्व भइसकेकाले यस वर्ष ८० देखि ९० क्विन्टलसम्म उत्पादन हुने अपेक्षा गरिएको उनले बताए । उनका अनुसार उत्पादन भएको ड्र्यागन फल हेटौँडा बजारमै खपत हुने गरेको छ । प्रतिकिलोग्राम दुई सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री हुने गरेको र बजारको कुनै समस्या नरहेको उनको भनाइ छ ।

उनले डेढ रोपनी क्षेत्रफलमा चार वटा टनेल निर्माण गरी टमाटर खेती गरिरहेका छन् भने छ वटा गाईसमेत पालेका छन् । टमाटर बिक्रीबाट वार्षिक करिब चार लाख रुपियाँ र दुध बिक्रीबाट वार्षिक करिब तीन लाख रुपियाँ आम्दानी हुने गरेको उनले जानकारी दिए ।

गाईवस्तुबाट उत्पादन भएको मल खेतीमा प्रयोग गर्दै आएको बताउँदै उनले रासायनिक मलभन्दा प्राङ्गारिक मललाई प्राथमिकता दिएको बताए । कृषि तथा पशुपालनबाट नियमित आम्दानी भइरहेको र आगामी दिनमा वार्षिक १५ लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।

कृषि तथा पशुपालन व्यवसायमा उहाँका परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन् । कृषि व्यवसाय विस्तारका क्रममा चितवन कृषि ज्ञान केन्द्र र कृषि विकास निर्देशनालयबाट प्राविधिक सहयोग तथा अनुदान प्राप्त भएको भ्लोनले बताए । सरकारी निकायबाट प्राप्त सहयोगले व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको उनको भनाइ छ ।