हेटाैँडा । मकवानपुरको बागमती गाउँपालिका–६ मा आइतबार परेको चट्याङका कारण एक गोठ जलेर नष्ट हुनुका साथै दुईवटा गोरु मरेका छन्। चट्याङबाट अर्को एउटा घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब २:३० बजे हावाहुरीसहित परेको चट्याङले बागमती गाउँपालिका– ६, देउजोरका दमाईंसिंह थोकरको काठले बनेको खरले छाएको एकतले गाईगोठमा आगलागी भएको थियो ।

आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गोठमा बाँधिएका एक हल गोरु (दुईवटा) मरेका छन्। प्रहरीका अनुसार उक्त घटनाबाट करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

यसैगरी, सोही वडाको करौचीस्थित दुन्दुवीर थिङको ढुंगा र माटोले बनेको दुईतले घरको पश्चिमपट्टिको भित्तामा चट्याङ पर्दा घरमा आंशिक क्षति पुगेको छ। उक्त घटनाबाट करिब ५० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ। यस घटनामा पनि कुनै मानवीय क्षति भएको छैन। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा विवरण संकलन गरेको जनाइएको छ ।