हेटाैँडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । मकवानपुरगढी–२ धरमपानीमा शुक्रबार आयोजित कार्यक्रममा रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको उपस्थितिमा मोक्तानलाई पार्टी प्रवेश गराइएको हो ।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै मोक्तानले बदलिँदो राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार नेपाली कांग्रेसले आफूलाई रूपान्तरण गर्न नसकेको बताए । उनले पुराना दलभित्र भ्रष्टाचार मौलाएको र सुशासनका सवालमा कमजोरी देखिएको आरोप लगाए । कांग्रेस छाडेर रास्वपामा प्रवेश गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नमा मोक्तानले कांग्रेसभित्रको राजनीतिक अवस्था र नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको बताए ।

रास्वपामा प्रवेश गरेकाे कारणबारे उनले रास्वपाले युवालाई अवसर दिएको र प्रतिनिधिसभा निर्वाचनमा नयाँ अनुहारलाई अघि सारेकाले आफू आकर्षित भएको बताए । कांग्रेसमा उम्मेदवार बन्नसमेत आर्थिक चलखेल हुने अवस्था देखिएको र परिवारवाद हाबी भएको उनको आरोप छ । मोक्तानले कांग्रेसभित्र पारिवारिक राजनीति र गुटगत प्रवृत्ति हाबी हुँदै गएको बताए । पार्टीमा पुस्तान्तरणको मुद्दाले समेत आफू निराश भएको उनको भनाइ छ ।

रास्वपामा आफ्नो भूमिकाबारे उहाँले पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न आफू तयार रहेको बताए । ‘पार्टीले जुन खालको भूमिका दिन्छ, त्यो जिम्मेवारी बहन गर्न तयार छु,’ उनले भने , ‘राजवीरजस्तो व्यक्ति अगाडि बढ्दा राम्रो हुन्छ भनेर पार्टीले जिम्मेवारी दियो भने म जिम्मेवारी लिन तयार छु ।’

नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापतिको जिम्मेवारीमा रहेका मोक्तान रास्वपामा प्रवेश गरेपछि मकवानपुरगढीको स्थानीय राजनीतिमा यसको प्रभावबारे चर्चा सुरु भएको छ । शुक्रबार आयोजित कार्यक्रममा मोक्तानसँगै बलबहादुर थिङ र प्रकाश बल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।