हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर सुधारका लागि लगानी बढाउनुपर्ने बताएका छन् । हेटौँडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले प्रविधियुक्त, समयानुकूल र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए।
शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने उल्लेख गर्दै उनले दक्ष जनशक्ति निर्माणका लागि तीनै तहका सरकारले शिक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए । लगानीबिना शिक्षामा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकिने उनको भनाइ थियो ।
“हाम्रो लक्ष्य हेटौँडालाई शैक्षिक केन्द्र बनाउने हो । मधेश प्रदेशलगायतका क्षेत्रका विद्यार्थीका लागि समेत हेटौँडा शैक्षिक गन्तव्य बनिरहेको अवस्थामा यहाँ शैक्षिक लगानी अभिवृद्धि गर्न आवश्यक छ,” उनले भने।
वडा अध्यक्ष सिग्देलले वडा कार्यालयले वडाभित्रका क्याम्पस तथा विद्यालयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको बताए । उनले प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी शैक्षिक तथा भौतिक सुधारका काम अघि बढाइएको र त्यसको नतिजासमेत देखिन थालेको दाबी गरे ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौँडा क्याम्पसका कार्यवाहक सभापति भरत देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य शिवहरि दाहाल, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, नेकपा एमाले मकवानपुर जनसङ्गठन संयन्त्र प्रमुख सन्तोष पौडेल, एमाले मकवानपुरका विद्यार्थी इन्चार्ज आकाश अधिकारी, अनेरास्ववियु नगर अध्यक्ष रिजन जिसी र क्याम्पस अध्यक्ष नितेस भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्