हेटाैँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीका इन्द्रबहादुर बानियाँ २०४४ सालदेखि राजनीतिमा सक्रिय छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा अघि बढेका उनी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यपछि २०७३ सालमा कांग्रेस मकवानपुरको सभापति बनेका थिए ।
२०७८ मंसिरमा भएको कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशनबाट उनी प्रदेश सभापतिमा निर्वाचित भए । संगठन सञ्चालनसँगै बानियाँले उम्मेदवार छनोटमा कार्यकर्ताको सहभागिता बढाउने विषय उठाउँदै आएका थिए । २०८१ चैतमा ललितपुरमा आयोजित प्रशिक्षणमा उनले टिकट वितरणमा कार्यकर्ताको अधिकतम सहभागिता सुनिश्चित हुने गरी पार्टी विधान संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
संसदीय राजनीतिमा बानियाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित भएका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका बानियाँ त्यसपछि उनी २०७४ र २०७९ को निर्वाचनमा मकवानपुर–२ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भए ।
२०७४ मा कांग्रेसको प्रदेश संसदीय दलको नेता बनेका बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २०८३ भदौ १ गतेसम्म प्रदेश सरकारको नेतृत्व गरे । बानियाँ नेतृत्वको सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यसहित मन्त्रालय संख्या १४ बाट आठमा झारेको थियो ।
विपन्न परिवारका विद्यार्थीलाई चिकित्सा र इन्जिनियरिङलगायत प्राविधिक उच्च शिक्षामा पहुँच पुर्याउने कार्यक्रम पनि उनको नेतृत्वको सरकारले अघि बढाएको थियो । बानियाँको पालाबाट बागमती प्रदेशमा कार्यविधि बनाएरै विपन्न तथा दलित परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिन थालिएको छ ।
आर्थिक अवस्थाका कारण प्राविधिक शिक्षा पढ्न नसक्ने विद्यार्थीको अभिभावक प्रदेश सरकार बन्ने उद्देश्य रहेको उनको भनाइ थियो । प्रदेश सरकारको नेतृत्व गर्दा अघि सारेका गरिबमुखी, आयमुखी र न्यायमुखीलगायतका प्राथमिकतालाई बानियाँले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी रूपान्तरणको प्रतिबद्धतासँग जोडेका छन् । महाधिवेशनको अभिमतलाई सधैँ हृदयमा राखेर कांग्रेसलाई जनताका आवश्यकता र अपेक्षासँग जोड्न क्रियाशील रहने उनको संकल्प छ ।













प्रतिक्रिया दिनुहोस्