हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा उद्घाटन गर्न शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेटौंडा आउने भएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्न प्रधानमन्त्री हेटौंडा आउन लागेका हुन ।

निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा हुन लागेको वार्षिक साधारणसभामा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, शहरी विकास मन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायतले सम्बोधन गर्ने कार्यत्रम रहेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी एकहजार ८ सय जना सहभागी हुने बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुने र सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु समेत रहने छ । पत्रकार सम्मेलनमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्र चलायनमान नहुँदा मुलुकमा आर्थिक समस्या देखिएको बताए । साधारणसभामा करिब एक करोड १० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।