हेटौँडा । भारतको उत्तराखण्डस्थित देहरादुन लैजाँदै गरिएका २१ जना बालकलाई हेटौँडा बसपार्कबाट उद्धार गरिएको छ। विभिन्न जिल्लाबाट भेला गरी भारततर्फ लैजाने तयारी भइरहेका वेला बालअधिकारसम्बन्धी संस्थाहरू र प्रहरीले संयुक्त रूपमा उनीहरूको उद्धार गरी बिहीबारसम्म अभिभावकको जिम्मा लगाएको हो।
बुधबार उद्धार गरिएका बालकहरू सिन्धुली, बारा, धादिङ र सर्लाहीबाट ल्याइएका खुलेको मकवानपुर प्रहरीले जनाएको छ। उनीहरूको उमेर ४ वर्षदेखि १८ वर्षसम्म रहेको उद्धारमा संलग्न सिविन नेपालका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए। उनका अनुसार बालबालिका संरक्षणको क्षेत्रमा कार्यरत संस्थाहरूको सूचनाका आधारमा गरिएको निगरानीका क्रममा हेटौँडा बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बालकहरूलाई भारतको देहरादुनस्थित मन्डुवाला चोकमा रहेको एक बौद्ध गुम्बामा पठनपाठनका लागि लैजान लागिएको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका–८ का विकास लामालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार लामाले बालबालिकालाई अभिभावकको सहमतिमा गुम्बामा अध्ययनका लागि लैजान लागेको बताएका थिए। उनले ती बालबालिका धार्मिक शिक्षा तथा औपचारिक अध्ययनका लागि भारत लैजान लागिएको दाबी गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामबहादर खत्रीले जानकारी दिए। उद्धार कार्यमा सिविन नेपाल (बाल हेल्पलाइन), साना हातहरू नेपाल, माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालित भएको थियो। सिविन नेपालका प्रबन्धक ज्ञवालीका अनुसार बालबालिकालाई संरक्षकविनै विदेश लैजाने तयारी भइरहेकाले जोखिमको मूल्यांकन गर्दै उद्धार गरिएको हो।
‘उद्धार गरिएका बालबालिकामध्ये केही चार–पाँच वर्ष उमेरका पनि छन्। यति साना बालबालिकालाई अभिभावक वा कानुनी संरक्षकविनै विदेश पठाउनु बालअधिकारको दृष्टिले गम्भीर विषय हो,’ उनले भने। उद्धार गरिएका बालबालिकाहरूलाई प्रहरीसमक्ष आफूहरू यसअघि पनि सोही गुम्बामा अध्ययन गरिरहेको र बिदाको समयमा नेपाल आउने–जाने गरेको बताएका थिए। उनीहरूका अनुसार गुम्बामा बौद्ध दर्शन, धार्मिक शिक्षा, तिब्बती भाषा तथा अंग्रेजी भाषाको अध्यापन गराइन्छ।
बालबालिकालाई भारतस्थित गुम्बामा अध्ययनका लागि पठाउन भन्दै बाराको निजगढ नगरपालिका– ११ र १२ बाट सिफारिससमेत दिइएको पाइएको छ। अधिकारकर्मीहरूले कानुनी प्रक्रिया र बाल संरक्षणका मापदण्डको पर्याप्त मूल्यांकन नगरी सिफारिस जारी गरिएको हुनसक्ने भन्दै यसबारे थप छानबिन आवश्यक रहेको बताएका छन्।
नेपालको बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको संरक्षणलाई विशेष प्राथमिकता दिएको सिविन नेपालका प्रबन्धक ज्ञवालीले बताए। उनका अनुसार ऐनको दफा ७ को उपदफा (३)मा बाबु, आमा, परिवारका सदस्य वा संरक्षकले बालबालिकालाई बेवारिसे छाड्न नपाइने व्यवस्था छ। त्यस्तै दफा १७ को उपदफा (५)मा पाँच वर्ष उमेर नपुगेका बालबालिकालाई एक्लै छाड्न वा उमेर पुगेको संरक्षकको साथबिना अन्यत्र पठाउन नहुने उल्लेख छ।
प्रवन्धक ज्ञवालीका अनुसार धार्मिक शिक्षा वा अध्ययनको उद्देश्य भए पनि बालबालिकालाई विदेश पठाउँदा उनीहरूको सुरक्षा, अभिभावकीय निगरानी, कानुनी प्रक्रिया तथा गन्तव्य संस्थाको विश्वसनीयतासम्बन्धी पक्ष सुनिश्चित हुन आवश्यक हुन्छ।
घटनापछि उद्धार गरिएका सबै बालबालिकाका अभिभावकलाई सम्पर्क गरी हेटौँडामा बोलाइएको थियो। आवश्यक सोधपुछ र कागजी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई अभिभावककै जिम्मा लगाइएको प्रवक्ता खत्रीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।












प्रतिक्रिया दिनुहोस्