हेटौँडा । पछिल्लो समय लोपोन्मुख सालक देखिने क्रम बढ्दै गएको छ। २०८३ सालको वैशाखदेखि हेटौँडा–६ चौघडास्थित रानी सामुदायिक वनले हालसम्म ६ वटा सालकको उद्धार गरी वन क्षेत्रमा छाडेको छ।

यसैक्रममा असार १२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भेटिएको एक सालकलाई डिभिजन वन कार्यालय, मकवानपुरमा बुझाइएको थियो। करिब २ केजी तौल भएको उक्त सालकलाई डिभिजन वन कार्यालयले रानी सामुदायिक वनलाई हस्तान्तरण गरेको थियो।

डिभिजन वन कार्यालय, मकवानपुरका जमदार रामचन्द्र पोखरेलले रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेललाई सालक हस्तान्तरण गरेका थिए। त्यसपछि उक्त सालकलाई वन समूहद्वारा संरक्षित सामुदायिक वन क्षेत्रमा सुरक्षित रूपमा छाडिएको छ।

लज्जालु स्वभावको सालकले मानिसका शत्रु मानिने धमिरा र कमिला खाने गर्दछ। साथै, जमिन खनेर दुलो बनाउने भएकाले किसानहरूले यसलाई आफ्नो साथीका रूपमा समेत लिने गरेका छन्।

रानी सामुदायिक वनले सालकको संख्या वृद्धि गर्न तथा यसलाई किसानको साथीका रूपमा संरक्षण गर्नुपर्ने सन्देशसमेत प्रवाह गर्दै आएको छ।

रानी सामुदायिक वनमा सालकको अध्ययन गर्न विभिन्न संघसंस्था तथा विद्यार्थीहरू आउने गरेको समूहका अध्यक्ष केशव धितालले जानकारी दिए ।

समूहले सालकको आहारका लागि वनभित्र रहेका धमिराका देउला (थुम्का) समेत संरक्षण गर्दै आएको छ। वन्यजन्तु संरक्षणलगायतका विभिन्न कार्य गर्दै आएको रानी सामुदायिक वनले राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरका विभिन्न पुरस्कारसमेत प्राप्त गरेको छ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब ५ किलोमिटर पूर्वमा अवस्थित यस सामुदायिक वनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका वन विशेषज्ञहरू अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन्।

२०६२ सालदेखि सालक संरक्षण अभियान सञ्चालन गर्दै आएको यस सामुदायिक वन क्षेत्रमा हाल करिब पाँच दर्जन सालक रहेको अनुमान गरिएको छ।

भीमसेन पौडेल
थप जानकारी