हेटौँडा। पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपियाँ आम्दानी गरेका छन्। गाउँपालिकाका अनुसार असारदेखि जेठ मसान्तसम्म ४० लाख ४४ हजार ४९६ लिटर दूध बिक्री हुँदा उक्त रकम गाउँमा भित्रिएको हो। दूधको भुक्तानी नियमित हुन थालेपछि पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको गाउँपालिकाले जनाएको छ।
मनहरी गाउँपालिकाले गत वर्ष कात्तिकदेखि किसानले उत्पादन गरेको दूधको बिक्री तथा भुक्तानीको जिम्मेवारी लिएको हो। यसअघि किसानले जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मकवानपुरमार्फत दूध बिक्री गर्दै आएका थिए। जिल्ला सङ्घबाट भुक्तानी ढिलो हुने गुनासो बढेपछि गाउँपालिकाले हेटौँडा–१९, नेवारपानीस्थित हेटौँडा डेरी इन्डस्ट्रिज प्रालिसँग सम्झौता गरी किसानको दूध बिक्री तथा भुक्तानीको व्यवस्था मिलाएको थियो।
गाउँपालिकाका अनुसार साउनमा तीन लाख ४२ हजार ६०६ लिटर, भदौमा तीन लाख ३२ हजार १६३ लिटर, असोजमा तीन लाख ३६ हजार १८९ लिटर, कात्तिकमा तीन लाख ३४ हजार ४९५ लिटर, मङ्सिरमा तीन लाख ५१ हजार ३०० लिटर, पुसमा तीन लाख ८८ हजार ८२४ लिटर, माघमा तीन लाख ६९ हजार ८२९ लिटर, फागुनमा चार लाख एक हजार ७४९ लिटर, चैतमा तीन लाख ८९ हजार ३३० लिटर, वैशाखमा तीन लाख ९२ हजार ३३० लिटर र जेठमा चार लाख पाँच हजार ६८९ लिटर दूध बिक्री भएको छ।
गाउँपालिकाका नौवटै वडाबाट छवटा दुग्ध सहकारीमार्फत दूध सङ्कलन हुँदै आएको छ। ती सहकारीमा एक हजार ४०० भन्दा बढी दुग्ध उत्पादक किसान आबद्ध छन्। आर्थिक वर्ष २०८०/८१ मा वार्षिक २१ लाख ६५ हजार ६०७ लिटर दूध उत्पादन भएकोमा गाउँपालिकाले भुक्तानीको सुनिश्चितता गरेपछि दैनिक दूध सङ्कलन चार हजार ६०० लिटरबाट बढेर करिब १४ हजार लिटर पुगेको छ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमै हुने व्यवस्था भएपछि दूध उत्पादन र पशुपालन दुवैमा उल्लेखनीय वृद्धि भएको बताए । उनका अनुसार समयमै भुक्तानी हुने व्यवस्थाले किसानको विश्वास बढेको छ।
पशुपन्छी विकास शाखाका पशु विकास अधिकृत प्रदीप बर्तौलाले गाउँपालिकाले उत्पादनका आधारमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिँदै आएको जानकारी दिए । चालु आर्थिक वर्षमा दूध उत्पादन अनुदानबापत ९५ लाख रुपैयाँ वितरण गरिसकिएको उनले बताए ।
उनका अनुसार सङ्घीय सरकारको ८० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा पशु बीमा कार्यक्रमसमेत सञ्चालन भइरहेकाले आगामी वर्ष दूध उत्पादन अझ वृद्धि हुने अपेक्षा गरिएको छ। गाेरखापत्रबाट साभार ।












प्रतिक्रिया दिनुहोस्