हेटौँडा । मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाका प्रेमप्रसाद तिमल्सिना खेतबारीमा खेर जाने केराको थामबाट नेपाली कागज उत्पादन गरी आम्दानी गर्न सफल भएका छन् । उनले करिब आठ लाख रुपियाँको लगानीमा स्थापना गरेकाे हातेकागज उद्योगबाट उत्पादित कागज स्थानीय तह तथा धूप उद्योगले खरिद गर्दै आएका छन् । कागज बिक्रीबाट उनी वार्षिक करिब पाँच लाख रुपियाँ आम्दानी गर्न सफल भएका छन् ।

कक्षा १२ उत्तीर्ण गरेपछि रोजगारीका लागि साउदी अरब पुगेका तिमल्सिनाले आठ वर्ष वैदेशिक रोजगारी गरे । स्वदेश फर्किएपछि केही समय काठमाडौँमा ट्याक्सी सञ्चालन गरेका उनले कोरोना महामारीपछि गाउँमै केही गर्ने उद्देश्यका साथ उद्यम सुरु गर्ने निर्णय लिए । युट्युबमार्फत भारतमा केराको थामबाट कागज उत्पादन गरिएको भिडियो हेरेपछि उनले काठमाडौँबाट फाइबर निकाल्ने मेसिन खरिद गरी २०८१ सालमा गाउँमै हातेकागज उद्योग स्थापना गरे ।

केरा काटिसकेपछि खेतमै कुहिन छाडिने थाम नै उद्योगको मुख्य कच्चा पदार्थ हो । थामबाट विशेष मेसिनमार्फत फाइबर निकालेर सुकाइन्छ । त्यसपछि बाबियोसँग पकाई प्रशोधन गरी लेदो बनाइन्छ र सोही लेदोबाट हस्तनिर्मित कागज उत्पादन गरिन्छ । तिमल्सिनाका अनुसार एक किलो फाइबरबाट ५० देखि ६० वटा कागज उत्पादन हुन्छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सके दैनिक पाँच सय वटासम्म कागज उत्पादन गर्न सकिन्छ ।

हाल उद्योगमा उत्पादित कागज धूप उद्योग, पेपर ब्याग, पेपर बक्स, हस्तकला सामग्री तथा वातावरणमैत्री प्याकेजिङमा प्रयोग हुन थालेको छ । मकवानपुरगढी गाउँपालिकाले पनि करिब एक लाख रुपियाँ बराबरको हस्तनिर्मित कागज खरिद गर्ने जनाएको उनले बताए । उद्योग विस्तार भएपछि तीनदेखि चार जनालाई रोजगारी दिने योजना रहेको उनको भनाइ छ ।

उद्योग सञ्चालनमा सडक र विद्युत् मुख्य चुनौती रहेको तिमल्सिनाले बताए । उद्योगसम्म पुग्ने सडक व्यवस्थित नहुँदा वर्षायाममा कच्चा पदार्थ ढुवानी गर्न कठिन हुने र पर्याप्त विद्युत् भोल्टेज तथा थ्री फेज लाइनको अभावमा आधुनिक उपकरण सञ्चालन गर्न समस्या भइरहेको उनको भनाइ छ ।

विदेशको कमाइभन्दा आफ्नै गाउँमा उत्पादनमूलक उद्यम दिगो हुने अनुभव सुनाउँदै तिमल्सिनाले पाँचदेखि १० वर्षको योजना बनाएर उद्यम सुरु गरे नेपालमै भविष्य बनाउन सकिने बताए । उनले मकवानपुरमा सरकारी प्रयोजनका लागि आवश्यक हातेकागज आफ्नै उद्योगबाट उत्पादन गर्ने तथा कम्तीमा २० जनालाई रोजगारी दिने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार खेर जाने कृषि उपजलाई उपयोगमा ल्याएर वातावरण संरक्षणसँगै ग्रामीण आयआर्जन बढाउन पनि यस्ता उद्यम प्रभावकारी हुने छन् । गाेरखापत्रबाट साभार