हेटौँडा। नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी र्याली आयोजना गरिएको छ। यो कार्यक्रम महासङ्घ बागमती प्रदेश समिति र जिल्ला शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
प्रभातफेरी सीमाचोकबाट सुरु भएर बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य सङ्घ चोक पुगेको थियो र पुनः सीमाचोकमा फर्केर कोणसभामा परिणत भएको थियो।
कोणसभामा महासङ्घ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले वर्तमान परिस्थितिमा पत्रकारको हकहित सुरक्षित राख्दै अगाडि बढ्नुपर्ने औँल्याए । उनले मिडियामाथि भइरहेका चौतर्फी आक्रमणका बाबजुद पेसागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जाल प्रयोगकर्ता र पत्रकारबिचको भिन्नता आम नागरिकले छुट्याउन नसक्दा पत्रकारिताको विश्वसनीयता र सुरक्षामा चुनौती थपिएको बताउँदै, नागरिकको हकहितका लागि पत्रकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
त्यसैगरी, महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले नागरिक पत्रकारितालाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अधिकारसँगै कर्तव्य पनि जोडिएको भएकाले पत्रकारले पेसागत मर्यादा कायम राख्दै सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिए । प्रभातफेरी कार्यक्रममा मकवानपुरका सञ्चारकर्मी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।












प्रतिक्रिया दिनुहोस्