हेटौँडा । तिब्बतबाट आएको बाढीका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा २९९ जनाको शव फेला परेको छ । बिहीबार साँझ ७ बजेसम्म बागमती प्रदेशमा १६४ र गण्डकी प्रदेशमा १३५ जनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । फेला परेका शवमध्ये १५६ पुरुष, ७९ महिला, १५ बालक, १५ बालिका र ३४ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

बागमती प्रदेशमा रसुवामा १६, नुवाकोटमा २६, धादिङमा २४ र चितवनमा ९८ जनाको शव फेला परेको छ । तीमध्ये ४९ महिला, चार बालिका, छ बालक र छ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका गोरखामा ३२, तनहुँमा २२ र नवलपरासी पूर्वमा ८१ जनाको शव फेला परेको छ । गण्डकी प्रदेशमा फेला परेका शवमध्ये ३० महिला, ११ बालिका, ५७ पुरुष, नौ बालक र २८ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट ९३७ जनालाई घाइते तथा सामान्य अवस्थामा उद्धार गरिएको छ । रसुवाबाट ६०७, नुवाकोटबाट ३२७ र धादिङबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये छ जनालाई काठमाडौँ, ३९ जनालाई धुन्चे र एक जना सामान्य घाइतेलाई नुवाकोटमा उपचारका लागि पठाइएको छ । २४ जनालाई धुन्चेबाट होल्डिङ सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका ५३३ जनामध्ये १६ जना विदेशी नागरिक छन् । उनीहरूमध्ये १८० जनालाई काठमाडौँ तथा नुवाकोटतर्फ पठाइएको र ७१ जना आफन्तको घरमा गएको जनाइएको छ । बाढीपछि बेपत्ता तथा मृतकको खोजीका क्रममा ४५ वटा हात, खुट्टा तथा पञ्जासमेत फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेका शवको मुचुल्का उठाउने तथा पहिचान गर्ने काम भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक धमलाले बताउनुभयो । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । फेला परेका शवको पहिचान र घटनासम्बन्धी विवरण सङ्कलन गर्ने कामसमेत भइरहेको छ ।

प्रहरीका अनुसार काठमाडौँ शिक्षण अस्पतालमा एक, त्रिशूली अस्पतालमा तीन, सेनाको तालिम केन्द्रमा चार, काठमाडौँमा एक, धादिङमा दुई र नुवाकोट घटनास्थलमा १६ शव रहेका छन् । पश्चिम क्षेत्रीय अस्पताल पोखरामा १६, शिक्षण अस्पतालमा छ र गजुरी अस्पतालमा दुई शव राखिएका छन् । भरतपुर अस्पतालमा ६४ तथा उद्योग सङ्घको परिसरमा ३४ शव राखिएको प्रहरीले जनाएको छ ।

फेला परेका ४५ वटा हात, खुट्टा तथा पञ्जामध्ये नौ वटा फेला परेको स्थानबाट अन्यत्र पठाइएको र सात वटा पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । उद्योग सङ्घको परिसरमा ३९ वटा हात, खुट्टा तथा पञ्जा राखिएको जनाइएको छ ।