हेटौंडा । कान्तिलोकपथ सडक अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ र १७ स्थित चुच्चेखोलामा सडक नबन्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
लामो समयसम्म स्तरउन्नती नहुँदा वडा नं. ६ र १७ दुबैतर्फका सडकको बिचमा ठुलाठुला खाल्डो बनेको छ । घाम लागेपछि धुलो र पानी परेपछि खाल्डोमा पानी जमेर जलमग्न हुँदा सवारी आवतजावत गर्न कठिनाई भएको स्थानीय बलराम चौलागाईले बताए ।
चुच्चेखोला बजारको मुख्यचोकबाट दायाँबायाँ दुबैतर्फ करिब १ सय मिटर बन्दा बढी सडक भत्किएको छ । सो स्थानमा सानाठुला गरी करिब ५० भन्दा खल्डा रहेका छन् । साँघुरो सडकमा खाल्डो बनेर पानी जम्दा आवतजावत गर्न समस्या भएको यात्रु करण गोलेले गुनासो गरे । सो सडकमा दैनिक हजारौँ सवारी गुड्ने गर्दछ ।
सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण दुई पांग्रे तथा साना सवारी साधनलाई झन बढी समस्या हुने गरेको छ । सो स्थानमा जोखिम मोलेर दुई पांग्रे तथा साना सवारी साधन चलाउँदा प्रत्येक दिन दुर्घटना हुने गरेको स्थानीय खुँवा पसल सञ्चालक मोहन तिमल्सिना बताउँछन् ।
राष्ट्रिय गौरवको आयोजना भएपनि सडक निर्माणमा कान्तिलोकपथ आयोजनाले ध्यान नदिएको र स्थानीय जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयहरु गुनासो गरेका छन् । चुच्चेखोलाबाट गैरीगाउँ तर्फको सडक बनाउने बिषयमा चासो नदिएको र चौघडातर्फको सडक निर्माणको काम ढिलासुस्ती भएको स्थानीयहरु बताउँछन् ।
भत्किएका पिज टाल्ने र भत्किएका स्थानमा सडक मर्मतको लागि ठेक्क सम्झौता भएको कान्ति लोकपथ आयोजनाले जनाएको छ । स्थानीय तह चुनावपछि तिब्रगतिमा काम गुरु गरिने आयोजनाले भनेको छ । चुच्चेखोलाबाट गैरीगाउँ तर्फको सडक निर्माण स्थानीय दुई ब्यक्तिविचको विवादको कारण हुन नसेको कान्तिलोकपथ आयोजनाका एक प्रतिनिधिले बताए । उनले उक्त विवाद मिलाउने प्रयास भइरहेको बताए ।
कान्तिलोपपथ बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघिय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग मध्ये एक हो । यसमार्गलाई राजधानीसँग तराई जोड्ने वैकल्पिक सडकको रुपमा पनि लिइएको छ । उक्त मार्गको उद्घघाटन २०१४ माघ ९ गते गरिएको थियो । २०१६ साल जेठ महिनामा ट्रयाक खुलेपछि राजा महेन्द्र आफै गाडी हाँकेर काठमाडौंबाट हेटौडा गएका थिए । सडकको आवश्यकता महसुस गर्दै आर्थिक वर्ष २०६५/६६ बाट सडक निर्माण सुरु गरिएको थियो । उक्त सडक निर्माण शुरु भएको ६३ बर्ष भयो अहिले सम्म निर्माण सम्पन्न भएको छैन ।
साभारः प्रहर खबर












प्रतिक्रिया दिनुहोस्