एजेन्सी । भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ले पाएको बहुमतसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व समुदायबाट बधाईको लहर आउन थालेको छ ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले प्रधानमन्त्री मोदीलाई बधाई दिँदै दुई देशका लागि साझा समृद्धि र स्थिरताको खोजीमा ‘साझा चासो’ का विषयमा सँगै मिलेर काम गर्न तत्पर रहेको बताए। उनले दुई देशको साझा हित, समृद्धि र स्थिरताको लागि प्रधानमन्त्री मोदीसँग थप सहकार्य हुने बताए ।

जवाफमा प्रधानमन्त्री मोदीले माल्दिभ्सका राष्ट्रपतिलाई धन्यवाद दिँदै दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न अझ घनिष्ठ सहयोगको अपेक्षा गरेको बताए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आम चुनावमा उनको राजनीतिक गठबन्धनको जितका लागि बधाई दिए ।

विश्वका सबैले विश्वव्यापी मामिलामा भारतको भूमिकालाई महत्त्व र मान्यता दिने बताउदै उनले सबै राष्ट्रका लागि न्यायपूर्ण शान्ति सुनिश्चित गर्न सबैले मिलेर काम गर्नु महत्त्वपूर्ण  भएको सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावमा लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा शुभकामना दिए ।

इटालीका प्रधानमन्त्री मेलोनीले भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिँदै सन्देशमा दुवै राष्ट्रका जनताको हितका लागि विभिन्न सवालमा सहयोग गर्ने बताए ।

सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले पनि उहाँका भारतीय समकक्षी मोदीलाई बधाई दिदै सामाजिक सञ्जाल एक्समा सिङ्गापुर–भारत साझेदारीलाई गहिरो बनाई अर्को वर्ष कूटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सव मनाउनसँगै काम गर्न उत्सुक रहेको उल्लेख गरे ।

चीन र जापानको पनि बधाई
चीनले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक चुनाव जितेपछि बधाई दिँदै आफ्नो नजिकको छिमेकीसँग काम गर्न तयार रहेको जनाएको छ ।

स्वस्थ र स्थिर चीन–भारत सम्बन्ध दुवै पक्षको साझा हितमा रहेको उल्लेख गर्दै  विश्वमा शान्ति र विकासका लागि पनि अनुकूल रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जनाए ।

चीन दुई देश र जनताको मौलिक हित र भविष्यको दृष्टिकोणमा दुई देशबिचको सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिन भारतसँग काम गर्न तयार रहेको उनले बताए ।

यसैगरी जापानले बुधबार भारतलाई महत्त्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ गठबन्धनलाई चुनावमा विजयका लागि बधाई दिएको छ ।

प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनलाई उनीहरूको विजयको घोषणाका लागि बधाई तथा शुभकामना व्यक्त गरेको सरकारका शीर्ष प्रवक्ता योशिमासा हयासीले पत्रकारलाई जानकारी गराए ।

स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि भारत एक महत्त्वपूर्ण साझेदार भएको बताउँदै जापान–भारत सम्बन्धलाई बलियो बनाउन निरन्तर लाग्ने उल्लेख गरे।