हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरको आयोजनामा संघमा आवद्ध सहकारी संस्थाका सचिबहरुको एकदिने भेला सम्पन्न भएको छ ।

संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा भएको भेलामा संघमा आवद्ध ७१ सहकारी संस्थाका सचिवहरुको सहभागिता रहेको थियो ।

भेलामा प्रमुख अतिथि देबकोटाले सहकारी संस्थाहरुमा आईपरेका समस्या समाधानको निम्ती सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहनु नै मुख्य समाधान भएको बताए । उनले जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुलाई बिभिन्न कार्यक्रम, शिक्षा, तालिम सञ्चालन गरेको र सदस्य संस्थालाई सुसूचित गरिरहेकोले यस्ता शिक्षा, तालिम, कार्यक्रममा सहभागी भई संस्थाको बिकासमा लाग्न आग्रह गरे ।

भेलामा बागमती प्रदेश पर्यटन तथा नागरिक उड्डयन एवं सहकारी मन्त्रालयका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारीको मूल्य मान्यता, सिद्धान्त, ऐन नियमको परिपालना र सुशासनमा रहेर सहकारी संचालनमा आए सहकारीमा समस्या नआउने बताए । उनले विभिन्न कारणले सहकारीहरुमा समस्या आएको बताउँदै समस्याको सामाधानको निम्ति जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले निरन्तर रुपमा गरिरहेको कार्यको प्रसंशा गरे ।

भेलाले प्रभावकारी ढंगले सहकारी संस्था संचालन गर्नको लागि ६ बुंदे प्रतिबद्धता पत्र समेत पास गरेको छ । प्रतिबद्धता पत्रमा सहकारी संस्थामा आएको चुनौतीको सामूहिक रुपमा समाधान गर्न सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहेर संस्थाको गतिबिधि संचालन गर्ने, संस्थामा पर्याप्त तरलता कायम राख्ने, सहकारी मूल्य, मान्यता, सिद्धान्त, सहकारी ऐन, नियमावलीको पूर्ण पालना गरी सदस्य हितमा कार्य गर्ने उल्लेख छ ।

भेलामा संघका अध्यक्ष कल्पना श्रेष्ठले समसामयिक परिस्थितिमा सहकारी संस्थाका समस्या, चुनौती, यसको समाधानका दीर्घकालीन उपायहरु, सचिवको भूमिका, संस्थाका संभावित अनियमितताका छिद्रहरु, यसको पहिचान एवं समाधान गर्ने उपाय सहितको कार्यपत्र प्रस्तुत गरेका थिए भने व्यवस्थापक सुमित्रा कुमारी वाईबाले संघको संस्थागत जानकारी प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम पौडेल,संघका सचिव बिरेन्द्र प्रसाद ढुंगाना, कोषाध्यक्ष बिष्णु माया लामा लगायतको उपस्थिति रहेको थियो ।

राज कुमार के.सी.
थप जानकारी