काठमाडौं । शेयर बजार पुनः ओरालो लाग्न थालेको छ । साताको पहिलो र दोस्रो दिन सुधार आएको बजार हिजोदेखि पुनः घट्न थालेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १९.६५ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३१.३२ अंकमा ओर्लिएको छ । आज २३१ कम्पनीका ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १ सय ८८ रुपियाँ बराबरको कारोबार भएको हो । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि खुम्चिएको हो ।

बजार ओरालो झरेको दिन आज होटल, निर्जीवन बीमा र म्युचुअल फण्ड क्रमशः ६६.६६, ७७.२३ र ० अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी अन्य समूह ५७.१३ अंकले घटेको हो । आज इमर्जिङ नेपा लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् भने यूनाइटेड इदीमर्दी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.९२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि नेपाल दूरसञ्चार कम्पनीकै उच्च कारोबार भएको छ । कम्पनीको १६ करोड ३६ लाख १ हजार ७ सय ८१.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार १०१.०७ अंकले बजार बढ्दा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रुपियाँ र सोमबार ब्रोकरको डाटा सेन्टरमा समस्या उत्पन्न भई कारोबार प्रभावित भयो ।

उक्त दिन करीब १ बजेतिर समस्या उत्पन्न भई कारोबार रोकिएको हो । त्यतिबेला ०.१५ अंकले मात्रै बजार बढेको थियो । ०.०१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६८.११ अंकमा उक्लिएपछि कारोबार रोकिएको हो । २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो ।