हेटौँडा । महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ ।

मातृभूमि साहित्य समाज, मकवानपुर र महालक्ष्मी विकास बैङ्क लिमिटेडको संयोजनमा एक्काईसौँ महालक्ष्मी साहित्य पुरस्कार, २०८० एकाउन्न हजार नगद सहित अर्याललाई प्रदान गर्न लागिएको आइतबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

यसअघि महालक्ष्मी साहित्य पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको थियो ।

पत्रकारिता क्षेत्रमा क्रियाशील मकवानपुरका पत्रकार माधव न्यौपानेलाई समाजसेवी ईश्वर मैनालीद्वारा आफ्ना पिताको सम्झनामा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार, २०८० प्रदान गरिने भएको छ । उनलाई नगद १० हजार सहित सम्मानपत्र समर्पण गर्ने निर्णय गरिएको मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै मकवानपुरका अग्रज शिक्षासेवी बद्रीनाथ शर्मा अर्याललाई “मकवानपुर श्री सम्मान“ प्रदान गर्ने निर्णय गरिएको छ । असोज ५ गते शनिवार एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार तथा सम्मान प्रदान गर्न लागिएको महालक्ष्मी विकास बैङ्क लिमिटेड हेटौँडाका प्रबन्धक अनन्तराज धितालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२०५६ सालमा स्थापित भई मातृभूमि साहित्य समाज, मकवानपुरले भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण संवर्द्धन गर्दै आएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल, समाजका पदाधिकारी, पत्रकार महासंघका कार्यबहाक अध्यक्ष ध्रुव अधिकारी लगायतकाको उपस्थिती रहेको थियो ।

Visited 48 times, 1 visit(s) today