हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले ३१७ औं साहित्य सन्ध्या पर्यटकीय तथा धार्मिक स्थल पुण्यक्षेत्र र स्मारकमा मनाएको छ ।

साहित्य सन्ध्यालाई फरक तरिकाबाट मनाउने क्रममा हेटौंडा–११ मा रहेको पुण्यक्षेत्रको जंगलमा स्थलगत रचना लेखन र वाचन गरेर मनाएको हो । स्मारक विकास समितिको सहयोग र समन्वयमा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले त्यहिको प्रकृतिलाई नियाल्दै विभिन्न रचना लेखेर वाचन गरेका थिए । सङ्गमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए ।

स्थलगत रचना लेखन कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, गजल मञ्चका अध्यक्ष देवराज तिवारी, नेपाल लेखक संघका पूर्व अध्यक्ष विष्णु गौतम, साहित्यसेवी मुक्तीगोविन्द वैद्य, साहित्यकार जर्नादन खनाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रसिद्धिका लम्साल, रजनी अधिकारी, इलिसा पराजुली, सम्प्रस पौडेल, गंगा सापकोटा, यमनदेव उत्प्रेरक, अनिल कोइराला, ऋत्विक केबी, कुबेर पराजुली, महेन्द्र ओझा, सावित्री ढुंगाना, स्वस्तिका दाहाललगायतले गीत, कविता, गजल र हाईकु रचना गरेर वाचन गरेका थिए ।

कार्यक्रमको सहजीकरण सङ्गमका कोषाध्यक्ष मनोज पोखरेलले गरेका थिए भने स्वगत मन्तव्य सङ्गमका उपाध्यक्ष सानु खनालले गरेका थिए । सधै साहित्य सङ्गमको प्रेक्षालयमा मात्र हुने सन्ध्यालाई फरक तरिकाले मनाउन पुण्यक्षेत्रमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताईन् । उनले साहित्यकारहरुले प्रकृतिसँग साक्षत्कार गरेर रचना गर्न पाउने र पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार हुने भएको यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताईन् । आगामी दिनमा पनि सङ्गमले यस्ता कार्यक्रमलाई सङ्गमले निरन्तरता दिने अध्यक्ष न्यौपानले जानकारी दिइन् ।