
हेटौँडा। सुरक्षित प्रसूतिका लागि गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ ज्यान्द्रुङमा शनिबारएक कार्यक्रमबिच बर्थिङ सेन्टर तथा ओटिसी सेन्टर उद्घाटन गरिएको हो ।
होम डेलिभरीको अन्त्य गर्न वडा वडामा स्वास्थ्य चौकी सहित बर्थिङ सेन्टर सञ्चालन गर्ने हेतुले ज्यान्द्रुङमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । बर्थिङ सेन्टरसँगै कडा कुपोषण बच्चाहरू उपचारका लागि ओटिसी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । जग्गा अभावका कारण बर्थिङ सेन्टर निर्माणमा ढिलाइ भएको थियो ।
स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरेपछि तेह्र लाख लगानीमा बर्थिङ सेन्टर निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले बताए। उक्त बर्थिङ सेन्टरमा गोपेघारी, देउतीस, धुस्राङ, देउराली, लिच्चे क्षेत्रका स्थानीयहरूले सेवा लिन सक्ने प्रमुख यादवले भनाइ छ ।
बर्थिङ सेन्टरको उद्घाटन गर्नुहुँदै मुक्तानले आमा र बच्चाको स्वास्थ्यका लागि र होम डेलिभरीको अन्त्यका लागि सेन्टर सञ्चालन गरिएको बताए। आगामी वर्ष देखी कैलाशका सबै वडामा बर्थिङ सेन्टर रहने उनले प्रतिबद्धता जनाए ।
गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरूकै हेरचाह र उपचार गर्दा विभिन्न जोखिमबाट बच्न र बचाउन सकिने भएकाले बर्थिङ सेन्टरबाट सेवा लिन सबैलाई अध्यक्ष मुक्तानले आग्रह गरे।
‘प्रत्येक वडामा आमा सुरक्षा कार्यक्रम र पोषण कार्यक्रम भइरहेको छ, यहाँका नागरिकले स्वास्थ्य परीक्षण समयमै पाइरहेको अवस्थामा यस बर्थिङ सेन्टरले थप टेवा पुग्ने छ,’ उनले भने । भौगोलिक विकटताका कारण होम डेलिभरीको सङ्ख्या बढ्न गइरहेको बताउँदै त्यसको अन्त्यको लागि स्वास्थ्य स्वयंसेविकाको ठुलो भूमिका रहेको रहेको उहाँले बताउनुभयो । गर्भवती महिलाहरूले स्वास्थ्य संस्थाबाटै कम्तीमा आठ पटक गर्भ जाँच गर्न उनले आग्रह गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बर्थिङ सेन्टरबाट सेवा लिन आग्रह गरे। घरमा सुत्केरी गराउनु भन्दा स्वास्थ्यका हिसाबले सेन्टरमै आएर सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने बताए । गाउँपालिकाले सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ, विभिन्न सूचकलाई पुरा गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक काम गरिरहेको उनले बताए।
४ नं. वडाध्यक्ष तिलकबहादुर मुक्तानले डोकोमा घण्टौँ समय हिँड्ने दिन गएको स्मरण गर्दै अब गाउँघरमै सुत्केरी र बच्चाको सरल र सहज ढङ्गले हेरचार र उपचार हुनेमा विश्वास व्यक्त गरे। बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी २४ घण्टै रहने बताउँदै सल्लाह सुझाव अनुरूप सेवा लिन सबै गर्भवती आमाहरूलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्