हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताले व्यवस्थाको विकल्प नखोजेको स्पष्ट पारेका छन । रिपोर्टर्स क्लव नेपाल मकवानपुर शाखाले सहिद दिवस २०८० को सन्र्दभमा आयोजना गरेको कार्यक्रमलाई मंगलवार हेटौंडामा सम्बोधन गर्दै समानुपातिक, समावेशी, विकास सहितको व्यवस्थाप्रति जनता सन्तुष्ट रहेको बताए ।

‘जनताका छोराछोरी मन्त्री, मुख्यमन्त्री भएको सामन्ती तत्वलाई मन परेको छैन, उनीहरु छटपटाइरहेका छन, त्यही तत्वले मात्रै अहिलेको व्यवस्थाको विरोध गरेको हो’,–मुख्यमन्त्री जम्कट्टेलले भने । जनता निरास नभएको बताउँदै जनताले यो व्यवस्थाको विरोध नगरेको उनको भनाई छ । गाउँ–गाउँमा बाटो, बिजुली, विद्यालय भवन बन्नुका साथैं वडा वडाबाट जनताको काम भईरहेकाले उनीहरु खुसी रहेको उनले विश्वास व्यक्त गरे । पछिल्लो समय नेता, साँसद र मन्त्री नै असन्तुष्ट भएको जिकिर गर्दै उनले अहिले यो व्यवस्थाको जनताले विकल्प नखोजेको स्पष्ट पारे ।

सामाजिक सुरक्षाका निमित्त लडेको स्मरण गराउँदै उनले बागमती प्रदेशका सबै पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले पत्रकारको जीवन निर्वाहसँग जोड्ने कार्यक्रम पनि आवश्यक रहेको बताए । राज्यले खर्च गर्ने बजेट आम नागरिकको जीवन निर्वाहसँग जोडिने खाल्को हुनुपर्नेमा उनले जोडदिए ।

बागमती प्रदेश सरकारले शिक्षामा आवासिय व्यवस्था सहितको मोडेल बनाउने तयारी गरिरहेको जानकारी दिनुहुँदै प्राविधिक शिक्षा ९ देखि १२ कक्षा बनाउने तयारी गरेको उनले जानकारी दिए । ८५ पालिकामा कृषि उत्पादनको पकेट क्षेत्र बनाउदै प्रदेश, स्थानीय सरकार, सहकारी, बैंक, नीजि क्षेत्र र किसानको लगानीमा कृषि काम गर्ने तयारी भईरहेको उनले बताए ।

राणाशासन, निरकुंश पञ्चायती व्यवस्था, १० बर्षे जनयुद्ध, मधेश आन्दोलन र सबैबर्ग जातिले चलाएको परिर्वतनकारी आन्दोलनमा सहिद हुनुभएकालाई स्मरण गरे । उनले परिर्वतनका लागि ज्यान गुमाउने सहिदप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले व्यवस्था परिर्वतन पश्चात जनताको अवस्था परिर्वतन गर्न लागिपरेको बताए । प्रदेश सरकार गठन भएको ६ बर्षको अवधिमा ऐन बनाउने क्रम जारी रहनुका साथै कार्यान्वयनको पाटोमा पनि निरन्तर अगाडि बढिरहेको उनको भनाई छ ।

सहिद वासुदेव घिमिरेका पिता कृष्ण प्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै सहिद वासुदेव स्मृति पत्रकारिता पुरस्कारबाट नवराज शर्मा र नवराज न्यौपानेलाई नगदसहित सम्मानपत्र सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामा, रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, हेटौँडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष धु्रव अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रिपोटर्स क्लव नेपाल मकवानपुरका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा भएको थियो ।