हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडा मकवानपुरले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेको छ । दसैको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी कारवाही गरेर यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराएको हो ।

दसैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडा वापत २० हजार २५० रुपियाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए । चाडपर्वको मौका छोपी यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि हामीले चेकजाँचलाई तीव्र पारेका थियौं, बढी भाडा तिर्न बाध्य भएका ५५ जना यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराउन सफल भएका छौं, ट्राफिक प्रहरी प्रमुख आचार्यले भने ।

हेटौंडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिएपनि यात्रुसँग आठसयदेखि बाह्रसय सम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५५०/१५० सम्म रकम फिर्ता गराइएको छ । सर्लाही–काठमाडौँ १२०० भाडादर तोकिएको भएपनि दुईहजार सम्म लिएकोमा प्रतिव्यक्ति आठसय रकम फिर्ता गराइएको छ । त्यस्तै सिमरा–काठमाडौँ सुमोभाडादर ८५० तोकिएको भएपनि एकहजार सम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौँ ८५० भाडादर तोकिएको भएपनि पन्ध्रसय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।

ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने १३७ सवारी र टिकट नकाट्ने ३१ सुमोलाई कारवाही गरिएको छ । गोरखापत्रबाट