हेटौंडा । बागमती प्रदेश सरकारले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘ख’ वर्गका अपाङ्गता व्यक्तिको स्वास्थ्य बिमा गरिदिने भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले पाँच करोड २५ लाख रुपियाँ खर्च गरेर स्वास्थ्य बिमा गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷८१ को कार्यक्रम अनुसार पछाडि पारिएका समुदायको स्वास्थ्य बिमा गरिदिन लागेको जानकारी दिए । बिमा कार्यक्रमबाट वनकरिया, सुरेल, माझी, चेपाङ, थामी, बोटे, दनुवारलगायतका समुदाय लाभान्वित हुने भएका छन ।

मन्त्रालय र स्वास्थ्य बिमा बोर्ड बागमती प्रदेश कार्यालय भक्तपुरबिच गत असोजमा असोज ४ देखि २०८१ असार समान्तसम्म लागु हुने गरी भएको सम्झौतापत्रमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलाल र बोर्ड बागमती प्रदेश संयोजक जीवलाल खरेलले हस्ताक्षर गरेका छन ।

मन्त्रालयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको बिमाबापतको ५० प्रतिशत प्रिमियम तिरिदिने भएको छ । स्वास्थ्य बिमा कार्यव्रmममा सहभागी हुने पाँच जनासम्म सदस्य भएको प्रतिपरिवार तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपियाँ थप गर्नुपर्ने व्यवस्था छ ।

प्रदेशका प्रत्येक वडाबाट नै लाभग्र्राहीको पहिचान गरेर स्वास्थ्य बिमाको प्रिमियम भुक्तानी गरिने छ । आर्थिक अभावका कारण लक्षित वर्गलाई उपचार पाउन समस्या भएपछि प्रदेश सरकारले उनीहरूको बिमा गरिदिन लागेको हो । गत आवमा प्रदेश सरकारले मकवानपुरका ६११, भक्तपुरका चार, ललितपुरका पाँच र चितवनका १७ गरी चार जिल्लाका ६३७ परिवारको बिमा गरिदिएको थियो ।

अनिल पराजुली
थप जानकारी