हेटौंडा । तिहार नजिकैसंगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार अनुगमानलाई तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई नेतृत्वको टोली तीन दिनदेखि बजार अनुगमन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार बुधबार अनुज्ञा नभएका र म्याद नाघेका सामग्रीहरू विक्री वितरण गर्ने दुई वटा पसलका सञ्चालक कारवाही परेका छन् । उनीहरुलाई कारवाही स्वरुप ६० हजार जरिवाना गरिएको सहायक प्रजिअ चापागाईले जानकारी दिए ।

कारवाही परेका दुई वटा पसलबाट करिब ९५ हजार ४०५ रुपैयाँ बराबरको म्याद नाघेका सामग्रीहरू बरामद गरि नष्ट गरिएको सहायक प्रजिअ चापागाईले बताए । उनका अनुसार हेटौंडा बजार क्षेत्रका ५ वटा पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनमा आन्तरिक राजस्व कार्यालय, मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर, हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरु सहभागी छन् ।

बिलबीजक नराख्ने, उपभोक्ता हित तथा कानुन विपरीत तथा व्यवसायको उद्देश्य विपरित खाद्यान्न सामग्री विक्री वितरण गर्ने र अनुगमनको क्रममा म्याद गुज्रिएका सामागीहरु बिक्री वितरण गरेको पाईएको छ । तीन दिनको बजार अनुगमनबाट ७ वटा पसललाई कारवाही गरी १ लाख ९७ हजार राजस्व संकलन भएको र २ लाख १३ हजारभन्दा बढी म्याद गुज्रिएका सामाग्री नष्ट गरिएको सहायक प्रजिअ चापागाईले बताए । संयुक्त बजार अनुगमन टोलीले सोमबार ३ वटा पसल र मंगलबार २ वटा पसल कारवाही गरेको थियो ।