हेटौँडा । बागमती प्रदेश सरकारले ३ कर्मचारीलाई सचिव पदमा बढुवा गरेको छ । संघीय सरकारले निजामती कर्मचारी ऐन जारी नगरेको अवस्थामा प्रदेश सरकारले धमाधम प्रदेश निजामती कर्मचारी ऐन कार्यान्वयन गर्दै कर्मचारीहरूलाई सचिवमा बढवा गरेको हो ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारका विभिन्न निकायहरूमा कार्यरत ३ जना कर्मचारीलाई एघारौँ तह (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकलले प्रदेश निजामती कर्मचारी ऐन–२०७९ अनुसार एधारौ तह (सचवि) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश निजामती ऐनले एधारौं तहलाई सचिव सरह रहने व्यवस्था गरेको र मन्त्रिपरिषद् बैठकले कृषि तर्फ कार्यरत उनीहरूलाई एधारौं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडामा कार्यरत डा. गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधीर श्रेष्ठ र कृषि केन्द्र ललितपुर कार्यरत नारायण कुमार श्रेष्ठलाई एघारौँ तहमा बढुवाको निर्णय गरेको हो । बढुवा भएका डा. गौरीमान श्रेष्ठलाई सम्बन्धित कार्यालयमा पदस्थापन गरिएको छ भने सुधीर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौँडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र भण्डारा चितवनमा पदस्थापन गरिएको छ ।

मन्त्री श्रेष्ठका अनुसार प्रदेश सरकारले योग्यता पुगेका व्यक्तिहरूलाई एघारौँ तहमा बढुवा गरेर सचिव सरह रहने कानुनी व्यवस्था रहे पनि कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश सरकारले एघारौँ तहमा बढुवा गरेका कर्मचारीहरूले हाल निर्देशनालय र कार्यालय प्रमुखको रूपमा रहेको सचिव सरहको अधिकार प्राप्त गर्न नसकेको उनले बताए ।

रातोपाटीबाट