हेटौंडा । सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मङ्गलवारदेखि काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । तालिममा दोलखा, मकवानपुर, काठमाडौं, ललितपुर र चितवनका २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले प्रदेशका पत्रकारहरुको गुणस्तर बृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा थप जिम्मेवार र जवाफदेही भएर पत्रकारिता गर्न सहभागिहरुलाई आग्रह गरे ।

पाँच दिन सम्म चलने तालिममा प्रशिक्षकद्वय प्रवेश सुवेदी र बिनोद ढुंगेलले प्रशिक्षण दिनुहुनेछ । तालिम कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय उपसचिव, (कानून)/प्रवक्ता मनुका घिमिरे, बागमती प्रदेश सूचना पुनरावेदन समिति अध्यक्ष हरी अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर लगायतकाको सहभागिता रहेको थियो ।

सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नका लागि महिला पत्रकारलाई समाचार सम्पादन, प्राविधिक र व्यवस्थापक तालिम, मोबाइल पत्रकारिता तालिम, डेटा ड्रिभन लगायतका तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।