हेटौंडा । बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खडकाले हेटौंडा–६ रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको विहिवार स्थलगत अवलोकन गरेकी छिन् । मन्त्री खडकाले वन समूहको क्षेत्रभित्र डावर नेपालको सहयोगमा भैरहेको विभिन्न गैरकाष्ठ वनपैदावारको स्थलगत अवलोकन गरेकी हुन ।

अवलोकन पश्चात मन्त्री खड्काले समूहले आयआर्जनको क्षेत्रमा गरेका कार्यहरुको प्रशंसा गर्दै यस्ता कामहरु अन्य समूहले पनि गर्नु पर्ने बताइन । समूहले गरेका यस्ता कार्यले स्थानीय क्षेत्रमै रोजगारी सिर्जना गर्नुको साथै आयआर्जन हुने काममा मन्त्रालयले समेत सहयोग गर्ने बताइन । मन्त्री खडकाले मेहनत गरे आफनै ठाउँमा रोजगारी पाउन सकिने भएकाले सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिइन ।

मन्त्री खड्का सँगै अवलोकन गर्ने कार्यमा डिभिजन वन कार्यालय, ललितपुरका डिभिजनल वन अकिधृत राम कुमार भण्डारी, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, हेटौंडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ, डावर नेपालका एशोसियट्स मेनेजर विष्णु केसी, समूहका अध्यक्ष सूर्य बहादुर घलान, सचिव रजनी गौतम, लेखा संयोजक भानु प्रताप बिडारी, सञ्चारकर्मी भीमसेन पौडेल, समूहका उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

समूहले डावर नेपालसँगको सहकार्यमा वनक्षेत्र भित्र कुरिलो, जामुन, टटेलो, खमारी, छतिवन लगायतका करिव ५ लाख विरुवाको वृक्षारोपण गरेको छ । समूहले करिव ७० हजारको कुरिलो विक्री समेत गरिसकेको छ ।