सुन सहित हेटौँडाबाट पक्राउ परेका साह र सिंह ।

हेटौंडा । मकवानपुर प्रहरीले अवैध सुनसहित हेटौँडाबाट शुक्रवार दुईजनालाई पक्राउ गरेको छ । काठमाडौंबाट बीरगंज जाँदै गरेको बसमा सवार धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिंहलाई हेटौँडा–१५, रातोमाटे चेक पोष्टबाट पक्राउ गरेको हो ।

प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा बीरगंज तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहको साथबाट ४ सय ५० ग्रामको ९ थान सुनको ब्रास्लेट र ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिंहको साथबाट ४० ग्राम सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

साहको साथबाट बरामद भएको सुनको ४६ लाख १५ हजार ९५९ रुपियाँ र सिंहको साथबाट बरामद गरिएको सुनको ३ लाख ६ हजार ६६६ रुपियाँ सहित ४९ लाख २२ हजार ६२५ रुपियाँ बराबरको रहेको प्रहरीको भनाई छ । साहले जुत्ताभित्र र सिंहले झोलाभित्र लुकाएर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको उनले बताए । सुन सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ ।