हेटौंडा । हेटौंडा अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।

स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको हेटौंडा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।

त्यस्तै एक पटक रेफर भई आएका सेवाग्रहीलाई सोही रोगको फलोअप गर्दा पुनः रेफर नचाहिने व्यवस्था समेत मिलाईएको उनले बताए । ११० शय्याको क्षमतामा काम गर्दै आएको हेटौंडा अस्पतालले हाल दैनिक एक हजार सय बढी सेवाग्राहीलाई सेवा दिदै आएको हेटौंडा अस्पताल विकास समिति सदस्य उत्सव चौलागाईंले जानकारी दिए । ६२ जना डाक्टर मार्फत बालरोग, हाडजोर्नी, नशा, नाक, कान, घाँटी, छाला, न्यूरो, डेण्टल, गाइनो, होमियो प्याथिक, जनरल फिजिसियन सेवा दिर्दै आएको छ ।