हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रामप्रसाद ढुङ्गानाले आगामी २०८४ मा सो पार्टीलाई ०६४ सालको स्थितिमा पुर्याउने गरि खटिन निर्देशन दिएका छन् । विहीबार राक्सिराङ गाउँपालिका – ५ को वडा सम्मेलनलाई सम्बोधन गर्दै सांसद ढुङ्गानाले स्थानीय कार्यकर्तालाई उक्त निर्देशन दिएका हुन् ।

हाल सो पार्टीको “घरघरमा माओवादी, जनजनमा माओवादी” “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान”, अन्तर्गत सम्मेलन भएको हो । कार्यक्रममा बोल्दै सांसद ढुङ्गानाले पार्टीप्रति इमान्दार र कटिवद्ध भएर स्थानीय रुपमा भइरहेको विकास निर्माणका कार्यहरुमा सशक्त निगरानी राख्न अनुरोध गरेका छन् । उनले आफ्नो पहलमा राक्सिराङ – ५ र ३ नम्बर वडा जोड्ने झोलुङ्गे पुल निर्माणको तयारी अघि बढिसकेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जनयुद्ध र जनआन्दोलनको बलले हाल सिंहदरबारको अधिकार स्थानीय तहसम्म आइपुगेको बताए । तीनै तहको सरकार अधिकार सम्पन्न भएको र जनताले नजिकबाट आफ्नो अधिकार उपभोग गरिरहेको केहि परम्परागत शक्तिहरुले मन नपराएको र विरोध गरिरहेको प्रति सचेत रहन उनले आग्रह गरेका छन् । जनताले रगतसँग साटिएर ल्याएको व्यवस्थाप्रति भइरहेको विरोधको कडा प्रतिवाद गर्न उनले स्थानीय कार्यकर्तालाई निदेशन दिए । पार्टीको पालिका, वडा, टोल कमिटिलाई स्थानीय जनताको समस्यामा प्रत्यक्ष जोडिएर सहयोग गर्न उनले निर्देशन दिए ।

सम्मेलनले पदाधिकारीहरु पछि चयन गर्नेगरि २९ सदस्यीय वडा कमिटि चयन गरिएको छ । कार्यक्रममा बागमति प्रदेश सचिवालय सदस्य विरबहादुर घलान (ज्वाला), जिल्ला कमिटि सदस्य हस्तबहादुर थिङसहित माओवादी केन्द्रका स्थानीय नेता, कार्यकर्ताको उपस्थिति थियो ।