हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको इसाई समुदायको महत्वपूर्ण पर्व क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेका छन ।

प्रदेश प्रमुख शर्माले सोमबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्घि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

उनले आफ्नो शुभकामनामा संवैधानिक व्यवस्था अनुसार धर्म निरपेक्ष राज्य हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गरे । विविधताबीच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न हामीले मनाउने पर्वहरुले सघाउ पु¥याइरहेको पनि प्रमुख शर्माको सन्देशमा भनिएको छ ।

‘हाम्रा धर्म, संस्कृति र चाडपर्वहरुको संरक्षण गर्दै धार्मिक–सांस्कृतिक स्वतन्त्रताको उपयोग गर्नु हाम्रो मौलिक अधिकार हो ।’ प्रमुखले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘क्रिसमस पर्वले हामी नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्दै समग्र राष्ट्रको उत्थानमा सघाउ पु¥याउँनेछ भन्नेमा म विश्वस्त छु ।’