हेटौंडा । ९८ किलो गाँजासहित मकवानपुरबाट चार जना पक्राउ परेका छन । मकवानपुरप्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले हेटौँडा–१५, रातोमाटेबाट ८८ किलो ३ सय ९० ग्राम गाँजासहित एक जना र मनहरी–९, रमनटारबाट १० किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । हेटौँडा–१५, रातोमाटेबाट उक्त परिणामको गाँजासहित थाहा नगरपालिका–५, बज्रबाराहीका सविन कुमार गुरुङलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

रातोमाटे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चितवन तर्फबाट सर्लाही तर्फ जाँदै गरेको ना.८ ख ७५०४ नम्बरको डिब्बा ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकमा सात वटा पोकामा ८८ किलो ३ सय ९० ग्राम लागु औषध गाँजा फेला परेको थियो । प्रहरीले ट्रक चालक २५ वर्षीय गुरुङलाई ट्रकसहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै मकवानपुरको महनरी गाउँपालिका–९ रमनटारमा भएको दुर्घटनामा घाइते उद्धारका लागि पुगेको प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ । उक्त घटनामा ३ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सोमबार रमनटारस्थित सडक किनारमा रोकिराखेको ना ४ ख ९४३३ नम्बरको ट्याङ्करमा बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

उद्धार गर्न घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल र घाइते फेला नपरेपछि घटनास्थल नजिकै झाडीबाट २ वटा झोलामा ५÷५ किलो लागुऔषध गाँजा फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घटनास्थलमा घाइते फेला नपर्नु तर लागुऔषध गाँजा फेला परेपछि प्रहरीले गरेको अनुसन्धानबाट मोटरसाइकल चालक कैलाश गाउँपालिका वडा नं.७ शर्सि बस्ने २५ वर्षीय हरी प्रजा, मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने १८ वर्षीय प्रस्थान प्रजालाई मनहरीमै आफन्तको घरबाट घाइते अवस्थमा नियन्त्रणमा लिइएको हो ।

मोटरसाइकल चालक हरीलाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारर्थ भरतपुर अस्पताल चितवन पठाईएको छ भने प्रस्थान र टयाङकर चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।