हेटौंडा । हेटौंडा जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा अमृत बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । बर्तौलाले जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा प्यानल सहितले उम्मेदवारी घोषणा गरेका हुन् ।

बुधबार पत्रकार भेटघाट गर्दै बर्तौला समूहले उम्मेदवारी घोषणा गरेका हुन् । बर्तौला जेसीज वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा छन् । बर्तौलाको समूहको कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने र जीवन ढकालको उम्मेदवारी रहने छ । त्यस्तै जेसीज २०२४ को उपाध्यक्षमा रमेश काफ्ले, रमेश पराजुली, आतिश दाहाल र विश्वास पराजुलीले उम्मेदवार छन् ।

जेसीजको साधारणसभा पुष १३ गते र निर्वाचन १४ गते हुने गरी तालिका तय भएको छ । बर्तौलाले आफू निर्वाचित भएपश्चात् हेटौंडा जेसीजको स्वर्ण जयन्तीको अवसरमा तेस्रो पटक २०२८ मा राष्ट्रिय महाधिवेशन आतिथ्यता गर्नको लागि पहल गर्ने बताए । ४० वर्ष नाघेका जेसीजका पूर्व सदस्यहरुसँग निश्चित शुल्क लिई आजीवन सदस्यताका लागि साधारण सभाबाट पहल गराइने उनले बताए ।

जेसीजका इच्छुक पूर्व सदस्यहरुलाई प्रत्येक कार्यक्रमको सूचना सम्प्रेक्षण गर्नुका साथै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिई जेसीजको सचिवालय भवन पूर्ण रुपमा मर्मत गरेर नयाँ स्वरुप दिने र सभाहल सञ्चालन गरी आय आर्जनमा बृद्धि गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यस अघि हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले जेसीजको संस्थागत विकाससँगै युवा पुस्ताको नेतृत्व एवम् व्यक्तित्व विकासका लागि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।