हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यालय रहेको मानव सेवा आश्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरुले एकसाथ आश्रमको अवलोकन गरेका छन ।

तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन बिहीवार बेलुका हेटौँडा आइपुगेका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रवार बिहान मानव सेवा आश्रमको स्थलगत अवलोकन गरेका हुन ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आश्रमको अवलोकन गरेका हुन ।

आश्रमको अवलोकन गर्दै मुख्यमन्त्रीहरुले आश्रमको तारिफ गरे । उनीहरुले प्रदेश सरकारहरूले आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । सडक मानवलाई उद्दार गरी पालनपोषण गर्दै आईरहेको मानव सेवा आश्रम हेटौंडा मुख्यालयमा हाल २ सय २० जनाले आश्रय लिईरहेका छन । जसमध्ये १ सय जना पुरुष, ८० महिला र २५ बालबालिका रहेका रहेका छन ।