हेटौंडा । आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका– ५ मा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको हो ।

सात प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ । जसमध्ये बागमती प्रदेशबाट विभिन्न क्षेत्र (क्लस्टर)का गरी राष्ट्रिय सभा सदस्यमा चारजना सदस्य निर्वाचित हुनेछन् ।

मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार बागमती प्रदेशमा एक सय १० जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी तीन सय ४७ जना मतदाता छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान भने हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।