हेटौँडा । सङ्घीय राजधानी काठमाडौँ–हेटौँडा जोड्ने आधा दर्जन बढी सडक सञ्जालको बिस्तारसँगै यहाँका स्थानीयको जीवनस्तरमा पनि सुधार आउन थालेको छ । सडक सञ्जालको विकाससँगै प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जाँदा स्थानीयस्तरमै उत्पादन भएको कोसेली लैजान थालिएको हो । कुनै समय काठमाडौँको कोसेलीको रूपमा रहेको गुदपाक र पुष्टकारी ल्याउने गरिएकोमा अहिले यहाँबाट काठमाडौँ कोसेली खुवा (कुराउनी) लैजान थालिएको छ ।

हेटौँडा–भीमफेदी सडक खण्ड हुँदै काठमाडौँ जाने टाटा सुमो, निजी सवारी, मोटरसाइकल र अन्य सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू मकवानपुरको भिमफेदी–४ रानीखोलामा रोकिने गरेका छन । व्यवसायीक रूपमा एकेडेरी उद्योग एण्ड खुवा पसलमा यो सडक खण्ड हुँदै काठमाडौँ यात्रा गर्ने यात्रुहरूले कोसेलीको रूपमा खुवा लैजाने चलन बढेको उद्योग सञ्चालक केशव घिमिरेले बताए ।

मकवानपुरको चुच्चेखोला खुवाको हवको रूपमा विकसित भइरहेको सन्दर्भमा भीमफेदीका स्थानीयले पनि दूध सङ्कलन गरेर दूधजन्य परिकार बनाएर कोसेलीका रूपमा विक्री वितरण थालेका छन । यो पालिकामा व्यवसायीक रूपमा खुवा तथा चकलेट उत्पादन थालिएको पहिलो पटक हो । मिल्क होलिडेका कारण दुग्ध उत्पादक किसान समस्यामा परेपछि दूध विक्री नुहुँदा फाल्नुपर्ने अवस्थालाई अन्त्य गर्न दूधको परिकार खुवा, चकलेट, गुदपाक, पेडा, दही, घ्यू, पुष्टकारी बनाउन थालिएको यहाँका स्थानीय रामबहादुर घिमिरेको भनाई छ । भैँसीको दूधको खुवा र गाईको दूधबाट चकलेट बनाउन थालिएको उद्योग सञ्चालक घिमिरेले बताए ।

भैँसी पाँच वटा र गाई सात वटा पालन गरेका घिमिरेले आफ्नै फर्मबाट दैनिक ६० लिटर दूध उत्पादन गर्नुका साथै डेरीमा दैनिक ३० जना किसानको दूध सङ्कलन गरेर दूधजन्य परिकार बनाइरहेको जानकारी दिए । भिमफेदी–३ र ४ नं. वडाबाट उहाँले दैनिक दुई सय लिटरसम्म दूध सङ्कलन गर्ने गरेका छन ।

खुवा सँगै इलामको जस्तै दूधबाट बनेको चकलेट पनि विक्री गरिएको छ । चकलेट, पुष्टकारी विशेष गरेर मकवानपुरको धार्मिक एवम् पर्यटकीय क्षेत्र हेटौँडाको सहिद स्मारक, कुलेखानी, सिस्नेरी, दामन–पालुङ, मकवानपुरगढी लगायतका क्षेत्रमा विक्री गरिरहेको उनले बताए । मकवानपुरमा अन्य विभिन्न जिल्लाबाट घुम्न आउने पर्यटकलाई फर्कँदा लैजाने कोसेलीको रूपमा समेत चकलेट र पुष्टकारी उत्पादन गरिरहेको उनले बताए ।

घिमिरेले सञ्चालन गर्नुभएको डेरी उद्योगमा खुवा घोट्ने र चकलेट बनाउने कामका लागि छ जनाले रोजगारी पनि पाएका छन । छ महिनाअघिबाट सञ्चालनमा आएको उद्योगको उत्पादन स्थानीयस्तर र काठमाडौँ ओहोरदोहोर गर्ने यात्रुका लागि कोसेली भएको छ । प्रतिकेजी सातसय रुपियाँका दरले विक्री हुँदै आएको खुवाको माग र यहाँको चकलेटप्रति ग्राहक सन्तुष्ट रहेको सञ्चालक घिमिरेले बताए । सडक सञ्जाल बिस्तारका कारण ग्रामीण क्षेत्रमा उत्पादन भएको दूधको परिकार बिक्रीबाट यहाँका स्थानीयले आम्दानी गर्न सफल भएका छन ।

Visited 95 times, 1 visit(s) today