हेटौँडा । प्राकृतिक सुन्दरता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थल रहेको कैलाशको वैकुण्ठ पर्यटकीय गन्तव्य बन्दै गएपछि घरबास सञ्चालनको तयारी गरिएको छ ।

पर्यटन प्रवर्धनका लागि कैलाश–२, वैकुण्ठमा घरबास सञ्चालन गर्न लागिएको हो । ऐतिहासिक एवं पर्यटकीय क्षेत्र वैकुण्ठमा आन्तरिक एवं बाह्य पर्यटकका लागि बास बस्न घरबास सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।

जिपलाइनको सफल परीक्षणपश्चात् नयाँ वर्षदेखि सञ्चालनमा ल्याएपछि यहाँ घुम्न आउने पर्यटकलाई वासस्थानको व्यवस्था मिलाउन घरबास सञ्चालनको तयारी थालिएको हो ।

वैकुण्ठबाट कैलाश गाउँपालिकाका अधिकांश वडाको अवलोकन, ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा, चारैतिर हिमाल र पहाडको दृश्य, डाँफे र मुनालको आकर्षक प्रतिमा, बौद्ध मूर्ति अवलोकन गर्न सकिन्छ ।

घरबास सञ्चालनका लागि यहाँका स्थानीयलाई पहिलो चरणमा भ्रमण तथा तालिम प्रदान गरिएको छ । भौगोलिक विकटता रहेको कैलाशको वैकुण्ठ क्षेत्रलाई पर्यटनको हब बनाउने गरी पालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।

वैकुण्ठमा घरबास सञ्चालन गर्नका लागि अन्य पर्यटकीय क्षेत्रमा भएको असल अभ्यासको समेत भ्रमण अवलोकन गरिएको थियो । गाउँपालिकाबाट स्वीकृत तीन लाख रुपियाँको बजेटमा १७ जनाले घरबास सञ्चालन गर्ने तयारी गरेका हुन् । यसका लागि वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा सचिव नितेशकुमार यादव, गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालसहितको टोलीले स्याङ्जाको सिरुबारी घरबास, लमजुङको घलेगाउँ र गोरखाको बारपाक क्षेत्रका घरबासको अवलोकन गरिसक्नुभएको छ ।

अवलोकनपश्चात् सोही बजेटबाट तीनदिने घरबाससम्बन्धी तालिम प्रदान गरिएको छ । चितवनका प्रशिक्षक टीकाराम पौडेलले १७ जनालाई तालिम प्रदान गर्नुभएको थियो । वडा कार्यालय छ्याङदुङमा तालिम भएको थियो ।

तालिममा घरबास सञ्चालनका लागि प्रयोग गरिने घरको सजावट, पाहुनाको स्वागत सत्कार, बिदाइ, ऐननियमबारे जानकारी गराइएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताइन ।

यहाँ प्राकृतिक गुप्तेश्वर गुफा, जिपलाइन र पर्यटकीय स्थलका कारण पछिल्लो समय कैलाशको वैकुण्ठ पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । वैकुण्ठको आकर्षक पार्क, गुम्बालगायतका संरचना निर्माण भएसँगै धादिङ, मकवानपुर र चितवनका पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको हो । गाेरखापत्रबाट

Visited 25 times, 1 visit(s) today