हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले उत्कृष्ट खेलाडी उत्पादनका लागि विद्यालय तहबाटै खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा–४ द्वारा आयोजित प्रथम सप्ताहव्यापी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष सिग्देलले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । उनले विद्यालय शिक्षामा खेलकुदसम्बन्धी पाठ्यक्रम समावेश गर्न आवश्यक रहेको बताए ।

विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने उल्लेख गर्दै वडाध्यक्ष सिग्देलले शिक्षालाई सार्थक बनाउन खेलकुद क्रियाकलाप अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकोटी, नारायणप्रसाद तिमल्सिना, कृष्ण कँडेल तथा अनुगमन समिति संयोजक इन्द्रप्रसाद नेपालको आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

साताभरि विभिन्न खेलकुद विधामा प्रतियोगिता आयोजना गरिने र माघ २३ र २४ गते विद्यालयस्तरीय नगरस्तरीय क्रिकेट प्रतियोगिता समेत सञ्चालन गरिने विद्यालयका खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिए ।