हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ६ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बारा कलैया उपमहानगरपालिका–२ का ३८ वर्षीय चालक विजय यादव, कलैया उपमहानगरपालिका–७ बरेवा बस्ने ५० वर्षीय सन्तोष कुमार गुप्ता, उहाकी श्रीमती ४० वर्षीया सोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएका छन् ।

घाइतेमध्ये सोभा गुप्ताको अवस्था गम्भीर रहेको छ । उनको कम्मर र टाउकोमा चोट लागेको छ भने अन्य घाइतेहरुको हात, खुट्टा, छाती र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो । स्थानीयवासीको सहयोगमा घाइतेहरुको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । दुर्घटनाग्रस्त स्कारपियो गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।