हेटाैँडा । नेपाल सरकारको सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत घरदैलो सेवा अवधारणा लागू गर्दै मकवानपुरको मनहरी गाउँपालिकाबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । मनहरी स्थायीबासीलाई घर नजिकै सेवा प्रदान गर्ने उद्देश्यले वैशाख २५ गते शुक्रबार गाउँपालिका कार्यालयबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
२०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्रको आवेदन दिने मनहरी स्थायीबासी र हालसम्म राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी वितरण गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिएका छन् । सुवेदीका अनुसार गाउँपालिकाको लामिटार ब्लकबाट शुक्रबार बिहान ९ बजेदेखि जनप्रतिनिधिका साथै मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिनेछ ।
सेवा वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले घरदैलो सेवाको अवधारणा ल्याएको थियो । सो अवधारणा कार्यान्वयन गर्दै राष्ट्रिय परिचयपत्र र राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँमै पुगी वितरण गर्न थालिएको प्रशासन कार्यालयले जनाएको छ । गाउँबाटै राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिनेबारेको सूचना वडा कार्यालयमार्फत टोल टोलमा पु¥याइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत आशिष मल्लले जानकारी दिए । उनका अनुसार पछिल्लो पटक ८८ जना मनहरीबासीले राहदानीका लागि आवेदन दिएकोमा उनीहरु सबैको राहदानी वितरण गरिनेछ । प्रत्यक व्यक्तिलाई फोनमार्फत गाउँपालिकामा राहदानी लिन आउन सूचित गरिसकिएको उनले बताए ।












प्रतिक्रिया दिनुहोस्