हेटौँडा । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षाका लागि राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले मकवानपुरको गढी गाउँपालिका–५ नम्बर वडा कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले मुलुकमा राष्ट्रियता संकटमा परेको, विदेशी चलखेल बढेको र संविधान तथा लोकतन्त्रमाथि प्रहार भएको बताए।

राष्ट्रियता र लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दलविरुद्ध गलत प्रचार गरेर जनमत प्राप्त गरेको सरकार केही महिनामै सरकार सञ्चालन गर्न असक्षम देखिएको उनको आरोप थियो । सुकुम्बासीको उठिबास लगाउने, विपत्तिका बेला समेत सहकार्य गर्न तयार नहुने, अन्य दललाई बेवास्ता गर्ने, संघसंस्थामाथि प्रतिबन्ध लगाउने तथा सरकार प्रमुखबाट राष्ट्रियताका विषयमा संसद्मा अनावश्यक अभिव्यक्ति दिने जस्ता गतिविधि सरकारको असक्षमताका उदाहरण भएको उनले बताए।

मुलुकमा दिनहुँ हत्या, हिंसा र महँगी बढ्दा जनताको दैनिक जीवन कष्टकर बनेको उल्लेख गर्दै उनले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरू राष्ट्र र जनताका समस्याप्रति मौन बस्न नसक्ने बताए । साझा मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईले विकास र समृद्धिका लागि एमाले बलियो हुनुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गरी समृद्ध पालिका निर्माणको नेतृत्व गर्न पार्टीका नेता तथा कार्यकर्ता पार्टी निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

वडा पार्टी अध्यक्ष रमेश तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश लेखा कमिटीका सचिव हरि कँडेल, जिल्ला सचिवालय सदस्य मेम्बर लो, जिल्ला सदस्यहरू रामजी सापकोटा र सन्तोष पौडेल, पालिका कमिटी अध्यक्ष जीतबहादुर घिमिरे, पेसागत महासंघ नेपालका प्रदेश उपाध्यक्ष सीताराम दाहाल, अनेरास्ववियु जिल्ला अध्यक्ष विष्णुस दंगाल, अनेरास्ववियु हेटौँडा उपमहानगर कमिटी अध्यक्ष रिजन जिसीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको वडा सचिव शिवराज तिमल्सिनाले जानकारी दिए ।