इंग्ल्याण्ड ।  इंग्ल्याण्डमा हाल लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन् । प्रतिबन्ध कहिलेदेखि हटाइने भन्ने नतोकिएपनि यसै महिनाको अन्तसम्ममा कोभिड सम्बन्धि प्रतिबन्ध हटाइने जोन्सनले बताए ।

हालको नियम अनुसार कोरोना संक्रमित भएको पुष्टि भएमा कम्तिमा पाँच दिनसम्म अनिवार्य  आइसोलेशन बस्नुपर्ने नियम छ । कोभिड प्रतिबन्ध सम्बन्धि  पछिल्लो  नियमको म्याद आउँदो मार्च २४ मा समाप्त हुने भएपनि निर्धारित समय अगाडि नै यसको अन्त्य गरिन लागिएको हो ।

प्रतिबन्ध हटाउने बारेमा यसअघि पनि आवाज उठेको भएपनि यसको विरोध गर्नेहरुको संख्या पनि उत्तिकै रहँदै आएको थियो ।

बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण अत्यधिक रुपमा बढेपनि यसको असर कम देखिएको र संक्रमण दर क्रमश घट्दै गएपछि सरकारले सबै प्रतिबन्ध हटाउने तयारी गरेको हो ।

ओमिक्रोन संक्रमणका कारण दैनिक दुई लाख भन्दा  बढी संक्रमित हुने गरेकोमा हाल दैनिक संक्रमितको संख्या ७० हजार भन्दा कम रहने गरेको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ६६ हजार १८३ जना नयाँ संक्रमित थपिएका थिए ।

यसैगरी बितेको २४ घन्टामा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा हालसम्म एक लाख ५८ हजार ६७७ जना संक्रमितको मृत्यु भइसकेको छ ।