हेटौँडा । हेटौँडामा दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबिच अन्तरक्रिया भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको आयोजनामा शनिबार अन्तरक्रिया कार्यक्रम भएको हो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेशमा बनेका दुरसञ्चारसँग सम्बन्धित नीतिगत, कानुनी र संस्थागत व्यवस्थाबारे जानकारी गराए । उनले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ तथा व्यवस्थापन नियमावली ०७६ बनेको बताए ।

प्रदेशमा सुचना प्रविधि तथा इन्टरनेट सम्बन्धी दर्ता, सञ्चालन र नियमन गर्न छुट्टै कानून नभएकोले कानून निर्माण गर्न आवश्यक रहेको बताए । प्रायः सबै अधिकार संघीय सरकारसँग रहेकाले केही अधिकारहरुमा तारमुक्त गर्न सकिने, स्वनियमन, नियमन र आवश्यक पर्दा नियन्त्रण गर्न सरकार लाग्ने बताए ।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पन्तले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सहभागिबाट प्रतिक्रिया लिए र जवाफ दिएका थिए । कार्यक्रममा नेपाल दुरसञ्चार हेटौँंडाका वरिष्ठ प्राविधिक पवन कुमार कर्ण, जिल्ला बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, उपभोक्ता मञ्च नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल, गैसस महासंघ मकवानपुरका सहसचिव गोकर्ण तिवारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम, मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायत सञ्चारकर्मी तथा दुर सञ्चार प्रदायक संस्थाहरुको उपस्थिती रहेको थियो ।