हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ६७ (६६.९८) प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । आयोगले आव २०७९÷८० मा सो उजुरी प्रारम्भिक छानबिनबाट फछ्र्यौट गरेको हो ।

आयोगमा विभिन्न माध्यमबाट २० हजार ९०५ उजुरीहरू चालु आवमा परेका थिए भने अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू सहित २८ हजार ०६७ उजुरी पुगेको छ । परेका उजुरीमध्ये १८ हजार ७९९ अर्थात ६६ दशमलव ९८ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएका थिए ।

फछ्र्यौट भएकामध्ये एक हजार १३३ उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाएको थियो । प्रारम्भिक छानबिनको क्रममा रहेका ९ हजार २६८ उजुरी चालु आर्थिक वर्ष २०८०÷८१ मा ं जिम्मेवारी सरेर आएको तथ्याङ्क छ ।

आयोगबाट भ्रष्टाचारसम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोप–पत्र दायर गर्ने. तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य भएको छ । उजुरीहरूको अनुसन्धानको क्रममा आवश्यकता अनुसार सम्बन्धित निकायमा सुझाव, लेखी पठाउने, मुल्तबीमा राख्ने र भ्रष्टाचार भएको तथ्य प्रमाण नपुगेका उजुरी तामेलीमा राख्ने गरिएको छ ।

अस्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र मातहतका कार्यालयहरु इटहरी, बर्दिवास, हेटौँडा, पोखरा, बुटबल, सुर्खेत, कन्चनपुर तथा बुटबलको सम्पर्क कार्यालयनेपालगञ्जबाट कार्यसम्पादन गर्दै आईरहेको छ ।