हेटौंडा । हेटौंडा–४, मा रहेको भूटनदेवी माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) ले ३२३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । दसैंको अवसरमा विद्यालय परिसरमा गरिएको साँस्कृतिक कार्यक्रममा छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । ३०८ जना छात्रा र १५ जना दलित गरी ३ सय २३ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले एकलाख २९ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो ।

दसैंको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षकले नृत्य, गायन कला प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कँडेलले कानको परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेका थिए । विद्यालयले हरेक वर्ष दसैं विदा अघि साँस्कृतिक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई पर्व विदा दिने गरेको छ ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक माधवप्रसाद दाहाल, विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कँडेल, शालिकराम पुडासैनी, नारायण प्रसाद तिमल्सिना, बालकृष्ण दाहाल, खडानन्द चौलागाई, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, संचारकर्मी लगायतकाको सहभागिता रहेको थियो ।