हेटौंडा । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौंडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवं हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीवार एकसय ५ जना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो ।

पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलाउने चालकको हेटौंडामा निःशुल्क आँखा परीक्षण गरिएको छ । आखाँ परीक्षणका क्रममा ५० प्रतिशत भन्दा बढीमा दृष्टी दोष, आँखा चिलाउने, जलबिन्दु सुगरकाले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका नेत्र सहायक धर्मराज यादवले जानकारी दिए । उनले शिविरमा आवश्यक परामर्श र निःशुल्क औषधि समेत वितरण गरिएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एवं कार्यालय प्रमुख वनसन्त आचार्यले सवारी चालकबाट दुर्घटना हुने भएकाले सुरक्षाको लागि आँखा परीक्षण गरिएको बताए । ‘सवारी दूर्घटना न्यूनीकरण र जनचेतना जगाउने उद्देश्यले हामीले चालक र सहचालकको आँखा परीक्षण शिविर राखेका हौं,’ उनले भने । सार्वजनिक सवारी चालकको कम्तीमा ६ महिनामा आँखा र स्वास्थ्य परीक्षण गराउन सकिए सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख आचार्यको भनाई छ ।

चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा ४० सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर र ५२ जना सामान्य घाइते भएका छन । ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक बर्षमा २५२ सवारी दुर्घटनामापरि ६१ जनाको मृत्यु भएको थियो भने २०५ जना गम्भीर र ४०६ जना सामान्य घाइते भएका थिए ।

अनिल पराजुली
थप जानकारी