हेटौंडा । बागमती प्रदेशकी प्रहरी नायब महानिरीक्षक (डीआइजी) किरण राणाले पछिल्लो समय लैङ्गिक हिंसाका घटनाहरुको स्वरूप परिवर्तन भएको बताएकी छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा लैंगिकहिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत बिहीबार भएको अन्तरक्रिया कायक्रमलाई सम्बोधन गर्दै  डिआइजी राणाले पछिल्लो समय प्रकृति र स्वरूप परिवर्तन भएर लिङ्गको आधारमा हुने हिंसाको ग्राफ बढ्दो क्रममा रहेको बताइन् ।

विगतमा बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलापमा कमी आएपनि घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरुमा कमी आउन नसकेको बताइन् । उनले विभिन्न बहानामा लिङ्गका आधारमा कुटपिट, अमानवीय क्रियाकलाप तथा हत्याका घटनाहरु हुने गरेको बताइन् । घरेलु हिंसाका रुपमा दाइजो तथा जबरजस्ती करणीका घटनाहरु भइरहेको उनको भनाई छ । हिंसा जन्य गतिविधि रोक्न प्रहरीले एकीकृत सेवा प्रवाह तथा लैङ्गिक हिंसाका पीडितलाई आश्रय दिने, घाइते भए उपचार गर्ने, सामाजिक मनोविमर्श दिने, कानुनी सहायता उपलब्ध गराउने र पूनःस्थापनाको लागि पहलमा सक्रियता बढाउनुपर्ने उनले बताइन् ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मीले लैङ्गिक तथा घरेलु हिंसाको अवस्थाका विषयमा जानकारी गराएका थिए । उनले  बागमती प्रदेशका लैङ्गिक हिंसा तथा घरेलु हिंसा घटनाको तथ्यांक बढ्दो क्रममा रहेको बताएका थिए । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ बमोजिम बागमती प्रदेशका १० वटै जिल्लाहरुमा जिल्लास्तरिय १०, महानगरपालिका स्तरीय १, नगरपालिका स्तरीय २५, गाउँपालिका स्तरीय–६१, वडा स्तिरय–७७५ गरी ८७२ वटा सञ्जाल समिति गठन गरिएको उनले बताए ।

उनका अनुसार बागमती प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षमा २०८०/०८१ मा ४ हजार ४६ वटा घरेलु हिंसा र ३६४ लैङ्गिक हिंसाका घटना भएको छ । लैङ्गिक हिंसा सबेभन्दा बढी चितवनमा ८१ वटा र सबैभन्दा कम रसुवामा २ वटा भएका छन् भने घरेलु हिंसा सबैभन्दा बढी मकवानपुरमा १ हजार १४६ र सबैभन्दा कम रसुवामा ५ वटा भएको उनले बताए ।

कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरुले प्रहरीले आफ्ना अनुसन्धान तथा उजुरीको प्रक्रियालाई थप व्यवस्थित र सरल बनाउन जरुरी रहेको बताएका थिए । उनीहरुले घटना भएको लामो समयसम्म पनि दोषी पत्ता नलाग्दा एक पछि अर्को श्रृखलावद्ध रुपमा घटनाहरु भइरहने भएकाले प्रहरी इकाइहरुको भूमिकालाई अझ विश्वसनीय बनाउनु पर्ने बताए । राताेपाटीबाट