हेटौंडा । हेटौंडा–१४ उत्तरपानीमा रहेको टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । समितिबाट सञ्चालित २८८ वटा धारा, डिप बोरिङ्ग तथा पानी टंकी सहितको खानेपानी योजना शुक्रबार एक कार्यक्रमकाबीच बोर्डमा हस्तान्तरण गरिएको हो ।

उक्त खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरणपश्चात २०८० मंसिर महिना देखि लागु हुने गरी २८८ वटा धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । टसीलिङ खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भए संगै १४ नं. वडाको सम्पुर्ण भु—भागको खानेपानीको व्यवस्थापनको जिम्मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा आएको छ । यस अघि नै मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् ।

बोर्डले पानी महशुल संकलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गते देखि मसान्त सम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको जनाएको छ । कार्यक्रमकैबीच समितिमा कार्यरत अवकाश पाएका कर्मचारी राम सिं. थिङ्ग र जय बहादुर थिङ्गलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनकुमारी लामा, बिशिष्ट अतिथि उपमेयर राजेश वानियाँ, वडाध्यक्ष दिपक खड्कालगायतले दोसल्ला ओढाई, प्रमाण पत्र र नगद सहित सम्मान तथा बिदाईसमेत गरिएको थियो ।

टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर सिन्तानको सभाअध्यक्षता भएको कार्यक्रममा लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लामाले ानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निशुल्क गरेको बताइन् ।

उपमेयर राजेश बानियाँले निर्वाचनका बेलामा नगरवासी समक्ष गरेका प्रतिवद्धताहरु एकपछि अर्को गर्दै पूरा गरिरहेको बताए । वडाका अध्यक्ष दीपक खड्काले खानेपानीको जिम्मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई दिएपछि वडामा पानीको समस्या नहुने बताए । कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटालगायतको आतिथ्यता रहेको थियो । हाल बोर्ड अन्तर्गत वडा नं. १४ मा १६९८ वटा धाराहरु सञ्चालनमा रहेको छ । बोर्डको सेवा क्षेत्र भित्र हाल २६ हजार ५ सय धारा रहेको छ । बोडले प्रति दिन २ करोड ५५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको अध्यक्ष प्रताप विष्टले बताए ।