हेटौँडा । वर्षायामसँग बढेको डेंगुको सङ्क्रमण जाडो सुरु भएपछि ह्वात्तै घटेको छ । मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगुको सङ्क्रमण कम हुँदै गएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार पछिल्लो दुईसातादेखि जिल्लामा नयाँ डेंगु संङ्क्रमितको सङ्ख्या शुन्यमा झरेको छ । चालु आर्थिक बर्षको साउनदेखि मङ्सिर अन्तिम सम्म पाँच महिनाको अवधिमा जिल्लामामा डेंगु सङ्क्रमितको संख्या ७७५ पुगेको छ । मङ्सिर १८ गतेपछि नयाँ डेंगु संङ्क्रमित नथपिएको स्वास्थय कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालले जानकारी दिए । ‘दुई साता भयो डेंगु संङ्क्रमितको संख्या थपिएको छैन, वर्षायामसंगै सुरु भएको संङ्क्रमणदर हटेर गएको छ,’–जनस्वास्थ्य अधिकृत सिलवालले भने ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार साउनमा १६३, भदौमा २८९, असोजमा १७२, कार्तिकमा १२१ र मङ्सिरमा ३० जनामा डेंगु सङ्क्रमण पुष्टी भएको थियो । जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष ३९५ र महिला ३८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन । यहाँ २५६ पुरुष र २७१ महिलागरी ५३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्क्रमितको संख्या शुन्य रहेको छ ।

त्यस्तै थाहानगरपालिकाका पुरुष ३ जना, मकवानपुरगढी गाउँपालिकाका पुरुष १२ र महिला ८ गरी २० जना, बागमती गाउँपालिकाकामा ५ पुरुष र १९ महिलागरी २४ जना, मनहरी गाउँपालिकाकामा पुरुष ४२ जना र ३० जना महिलागरी ७२ जना, इन्द्रसरोवर गाउँपालिकाकामा पुरुष २ जना र महिला २ जनागरी ४ जना, भीमफेदी गाउँपालिकाकामा पुरुष २३ जना र १४ जना महिलागरी ३७ जना, बकैया गाउँपालिकामा पुरुष १२ जना र १३ जना महिलागरी २५ जना र राक्सिराङ गाउँपालिकामा २ जना पुरुषमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै हेटौँडा अस्पतालमा पुरुष २० जना र महिला २० जनागरी ४० जना र अन्य जिल्लाका पुरुष ९ जना र महिला ३ जना महिलागरी १२ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुमा गत आर्थिक बर्षमा पाँच हजार ८६४ जनामा डेंगु संक्रमण भएको थियो जसमध्ये तीनहजार २०५ जना पुरुष र दुई हजार ६५९ जना महिला रहेका थिए ।

अनिल पराजुली
थप जानकारी